काठमाडौं उपत्यकामा इन्द्रजात्राको उपलक्ष्यमा लिंगो र यम द्यः ठड्याइयो


काठमाडौं,  २२  भदौ  (असनबजार पत्रिका)   :  काठमाडौं उपत्यकामा आज बुधबारदेखि  इन्द्रजात्रा आरम्भ भएको छ । इन्द्रजात्राको मुख्यस्थल हनुमानढोकामा काभ्रेबाट ल्याइएको इन्द्रध्वजसहित लिंगो उठाउने प्रचलन रहेको छ । आजैदेखि काठमाडौं, भक्तपुर र ललितिपुरका भित्री शहरमा देवराज इन्द्रको प्रतीकको रूपमा रहेको यमः द्यः उठाउने गरिन्छ । भाद्र व्दादशीदेखि चतुर्थी तिथि ८ दिनसम्म मनाइने इन्द्रजात्राका दिन मजिपाट लाखे, हल्चोक भैरव, किलागलको पुलुकिसी, भक्तपुरको देवी नाचलगायत विभिन्न देवदेवीको नाचहरू बाहिर निकाल्ने परम्परा रहिआएको छ ।

काठमाडौंको इन्द्रचोकमा आकाश भैरव, हनुमानढोकास्थित स्वच्छन्द भैरव पनि दर्शनार्थीका लागि बाहि निकाल्ने गरिन्छ । यसको साथसाथै टोलटोलमा विभिन्न देवदेवीको मूर्ति पनि प्रदर्शन गर्ने गरिन्छ ।

मूल इन्द्रजात्रा चतुदर्शीका दिन वसन्तपुरबाट श्रीगणेश, श्रीकुमारी र श्रीभैरवको जीवित स्वरूप शाक्य परिवारका बालबालिकालाई रथमा राखी तानेर शहर परिक्रमा गराएर जात्रा उत्सव मनाइन्छ । यस दिनको रथयात्रा राष्ट्रप्रमुखलगायत गण्यमान्य व्यक्तिहरूले अवलोकन गर्ने गरिन्छ । भक्तपुरमा इन्द्रायणी माताको जात्रा हुने र सिद्धपोखरीमा मेला लाग्ने गर्दछ ।

यसै उपलक्ष्यमा वसन्तपुरस्थित दश अवतार देवलमा भगवान् विष्णुको दशै अवतारको प्रदर्शन गरिन्छ । आज व्दादशीका दिन काठमाडौंका विभिन्न टोलको परिक्रमा गरी दिवंगत भएका आफन्तहरूले साँझ दीपदान गर्ने पनि प्रचलन रहेको छ । भदौ २५ गते पूर्णिमाका दिन नेवार समुदायले समेबजी खाने गरिन्छ ।  इन्द्रजात्राको अन्तिम दिन भदौ २९ गते नानी चायाः को रथयात्रा सकेपछि राष्ट्रप्रमुखले श्रीगणेश, श्रीकुमारी र श्रीभैरवको प्रसाद ग्रहण गर्ने पनि चलन रहेको छ । त्यसैदिनको बिहान हनुमानढोकामा उठाइएको लिंगो पनि ढालेपछि इन्द्रजात्रा समाप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?