भक्तपुरको देवी नाचमा महिला कलाकारको श्रीगणेश, सशक्तीकरणको बेजोड उपलब्धि


काठमाडौं,  २६  भदौ  (असनबजार पत्रिका) :  काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राको रौनक बेग्लै प्रकारको रहेको छ । यसपालीको इन्द्रजात्रा त विशेष नै रह्यो । विगत दुई वर्षदेखि कोभिडका कारण उल्लासमय वातावरणमा मनाउन नपाएको सांस्कृतिक जात्रा यस पटक परम्परागत स्वाद लिएर नचाउने र नाच्नेहरू स्वतन्त्र ढंगले मस्त छन् । साँझ र बेलुकीपख हनुमानढोका दरबार परिसरमा उल्लेख जात्रालुहरूको भीड रहने गरेको छ ।

 

इन्द्रजात्रा अवधिभर काठमाडौंका टोल र गुठीले निकाल्ने नाचहरू पनि यथावत नै रहेको छ । इन्द्रजात्रा भित्री काठमाडौं शहरमा विशेष रूपमा मनाइने भएता पनि परम्परादेखि उसको छिमेकी शहर पाटन र भक्तपुरको पनि विशेष योगदान रहने गरेको छ । इन्द्रजात्राको रौनक भक्तपुरको देवी नाचले थप्ने गर्दछ । आँशुरी शक्तिमाथि दैवी शक्तिले विजयश्री प्राप्त गरेको सन्देश दिने भक्तपुरको देवी नाचमा भाग लिने कलाकार पहिले पुरुष मात्रै हुने गर्दथ्यो तर अहिले समय बदलिएको छ । महिला सशक्तीकरणको जागरण सँगसँगै देवी नाचमा महाकालीको भेषमा अब पुरुष नभई महिला कलाकारले नै भाग लिइरहेको छ ।

पहिले महिलाहरू अग्रपंक्तिमा आउन हिच्किचाउने हुनाले देवी नाच सिकाउँदा गुठीका नाइकेहरूले पुरुषलाई छान्दथे तर अहिले आमूल परिवर्तन आएको छ । अहिले महिला कलाकारहरू नै अगाडि बढेर नाच सिक्दै रातविरात आफ्नो प्रतिभा प्रदर्शन गर्दैछन् । यसैको पछिल्लो संस्करण स्वरूप इन्द्रजात्रा–२०७९ मा महिला कलाकारले महाकालीको भेषमा नाचमा नृत्य गरेको देख्दा सबै संस्कृतिप्रेमीहरू अवाक भएका छन् । (तस्बिरः सौजन्य, मनोजरत्न शाही, गोरखापत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?