यसपालीको भाइटीका कात्तिक १० गते, साइत बिहान ११ : ३७ बजे


काठमाडौं, २  कात्तिक (असनबजार पत्रिका)  :  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।

यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीप दान गरी सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यमको यातना भोग्न नपर्ने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक ६ गते आइतबार कागतिहार, धनवन्तरी जयन्ती र कात्तिक ७ गते सोमबार कुकुर तिहार र श्री लक्ष्मीपूजा गर्नुपर्ने विज्ञप्तिमा स्पष्ट पारिएको छ । कात्तिक ८ गते मङ्गलबार सूर्यग्रहण पनि परेको छ । कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन भाइटीका परेको समितिले जनाएको छ । यस दिन साइत खोज्नेले बिहान ११ :३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?