भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे भदौ १९ मा नेपाल आउँदै


काठमाडौं,  १५ भदौ  (असनबजार पत्रिका) : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाका प्रमुख जनरल मनोज पाण्डे यही भदौ १९ गते नेपालको भ्रमण आउने भएका छन् ।

भ्रमणका क्रममा नेपाली सेनाका परमाधिपति रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरी सम्मान गर्ने कार्यक्रम रहेको छ । विगत सात दशकदेखि नेपाली सेना र भारतीय सेनाबीच मानार्थ सेनापति सम्मान आदान प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष पाण्डेसहितको टोलीले प्रधानमन्त्री एवं रक्षामन्त्री  शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसैक्रममा पाण्डेसहितको भारतीय सैनिक टोलीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने र नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सम्मान तथा निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि भारतीय टोलीले प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । साथै भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विभिन्न प्रकारका सवारीसाधन र विविध सामग्रीहरूको हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । वि.सं. २००७ देखि नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई कदर स्वरूप मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिकता शुरु भएको थियो । तत्कालीन भारतीय सेनाका फिल्ड मार्सल स्थल सेना प्रमुख के एम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधान सेनापतिबाट सम्मान गरिएको थियो । वि.सं . २०२६ मा नेपाली सेनाका प्रधान सेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको दर्ज्यानी चिह्नसहित सम्मानि भएका थिए।

यही परम्परालाई निरन्तरता दिँदै भारतीय गत वर्ष नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षको मानार्थ महारथीबाट सम्मान गर्नु भएको थियो । यसैगरी सन् २०२० मा भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलेलाई  नेपाली सेनाको मानार्थ प्रधान सेनापतिबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?